Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

चार महिनापछि मुग्लिन–पोखरा सडकको भासिएको खण्ड पुनः मर्मत, ८६ प्रतिशत काम सम्पन्न


मङ्सिर १८ । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार परियोजनामा भासिएको सडक खण्डको चार महिनापछि पुनः मर्मत कार्य तीव्र रूपमा सुरु गरिएको छ। व्यास नगरपालिका–३ स्थित दुर्गामन्दिरदेखि मादीपुलसम्म करिब १०० मिटर सडक साउन अन्त्यमा अत्यधिक सवारी चापका कारण भासिएपछि एकतर्फी रूपमा मात्र सवारी आवागमन भएको थियो। अहिले उक्त खण्डमा संरचनागत रूपमा बलियो बनाउने काम द्रुत गतिमा भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

उनका अनुसार नयाँ संरचनामा निर्मित दुई लेनले लगातारको भारी सवारी दबाब थेग्न नसक्दा सडक भासिएको हो। “अब स्थायी समाधानका साथ सडक पुनः सुरक्षित बनाइँदैछ,” पाण्डेले बताए। मर्मत सम्पन्न भएपछि यातायात संचालन थप सहज र सुरक्षित हुने उनको दाबी छ।

जामुने–आँबुखैरेनीसम्मको ४१.५ किलोमिटर पूर्वी खण्ड चार लेन विस्तार हुँदैछ। विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेबाट सुरु भएको काम चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ठेक्का लिएर गरिरहेको हो। हालसम्म पूर्वी खण्डको ८६ प्रतिशत काम सम्पन्न भइसकेको पाण्डेले जानकारी दिए।

पूर्वी खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ र पश्चिम खण्डको लागत ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ छ। परियोजना एशियाली विकास बैंक (ADB) को ऋण सहयोगमा अघि बढिरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom