बालेनको झुकाव रविभन्दा कुलमानतर्फ, आफैं नभए कुलमान अघि सार्ने रणनीति
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’बीच सोमबार राति करिब ६ घण्टा लामो छलफल भएको छ । छलफलमा दुवै नेताले भावी प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरे पनि तत्काल ठोस सहमति भने जुट्न नसकेको स्रोतले जनाएको छ ।
निकट स्रोतका अनुसार आगामी निर्वाचनमा नयाँ राजनीतिक शक्तिहरू मिलेर जानुपर्ने विषयमा दुवै सहमत भए पनि सहकार्यको मोडालिटी कस्तो हुने भन्ने विषयमा निष्कर्ष निस्कन सकेको छैन । यद्यपि, साझा एजेन्डा बनाएर छिट्टै सहमतिमा पुग्नुपर्नेमा दुवै पक्ष एकमत देखिएका छन् ।
कुलमानलाई अघि सार्ने बालेनको प्राथमिकता
छलफलमा बालेनले कुलमान घिसिङलाई समेत समेटेर अघि बढ्नुपर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताइएको छ । स्रोतका अनुसार बालेनको झुकाव रवि लामिछानेभन्दा कुलमानतर्फ बढी देखिन्छ । “छान्नै परे रविभन्दा कुलमानलाई अघि सार्ने मनस्थितिमा बालेन हुनुहुन्छ,” बालेन निकट स्रोतले बतायो ।
यसअघि कुलमान र रास्वपाबीच पटक–पटक छलफल भए पनि नेतृत्व र भूमिकाको विषयमा सहमति हुन नसकेपछि कुलमानले आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी घोषणा गरेका थिए । निर्वाचन नजिकिँदै गर्दा मन्त्री पदबाट राजीनामा दिएर पार्टी नेतृत्व सम्हाल्ने र चुनावी मैदानमा उत्रिने उनको रणनीति रहेको बताइन्छ ।
रविको योजना : मुद्दा टुंग्याएर आफैं प्रधानमन्त्री
रवि लामिछाने भने अदालतमा रहेका सबै मुद्दा छिट्टै टुंग्याएर आफैं प्रधानमन्त्री बन्ने योजनामा रहेको स्रोतको दाबी छ । यही कारण बालेनले “आफैं नभए कुलमानलाई प्रधानमन्त्री बनाएर अघि बढ्ने” वैकल्पिक योजना बनाएको बताइएको छ ।
रास्वपाले वैकल्पिक शक्तिहरूसँग सहकार्य गर्ने निर्णय गरे पनि सबै नयाँ शक्तिलाई एक ठाउँमा ल्याउने स्पष्ट खाका अझै बनाउन सकेको छैन । यसले गर्दा कुलमान आफ्नै नेतृत्वमा अघि बढ्ने पक्षमा देखिएका छन् ।
बालेन अझै अनिर्णित, तर लक्ष्य प्रधानमन्त्री
जेन–जी आन्दोलनसँगै बालेनको राजनीतिक आकांक्षा बढेको भए पनि संसदीय राजनीतिमा जाने वा नजाने भन्नेमा उनी अझै अनिर्णित छन् । तर राजनीतिमा होमिने अवस्था आए प्रधानमन्त्रीकै रूपमा अघि बढ्ने तयारीमा रहेको दाबी स्रोतको छ ।
जेन–जी अभियन्ताहरूका अनुसार नैतिकता र आर्थिक पारदर्शिताका हिसाबले बालेनको छवि बलियो भएकाले सबै नयाँ शक्ति उनको नेतृत्वमा एकीकृत भए राम्रो परिणाम आउन सक्ने आँकलन गरिएको छ ।
ओलीविरुद्ध झापाबाट चुनाव लड्ने चाहना
बालेनले निकटस्थहरूसँग राजनीतिमा आएपछि झापाबाट केपी शर्मा ओलीविरुद्ध चुनाव लड्ने चाहना व्यक्त गर्दै आएको स्रोतको दाबी छ । “ओलीलाई उनकै क्षेत्रबाट नहराइकन चुनाव जितेको मज्जा हुँदैन भन्ने बालेनको भनाइ छ,” एक निकट नेताले बताए ।
ओली र बालेनबीच लामो समयदेखि तिक्त सम्बन्ध रहँदै आएको छ । बालेनले सामाजिक सञ्जालमार्फत ओलीलाई बारम्बार आलोचना गर्दै आएका छन् भने ओली नेतृत्वको सरकारले महानगरको काममा अवरोध सिर्जना गरेको आरोप बालेन पक्षको छ ।
सहमतिको प्रयास जारी
दुवै नेताले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरे पनि अन्ततः सहमतिको बाटो खोजिने र कुलमानलाई समेत समेटेर अघि बढ्ने दाबी दुवै पक्ष निकट स्रोतले गरेका छन् । आगामी दिनमा नयाँ राजनीतिक शक्तिहरूबीचको संवादले यसको दिशा तय गर्ने देखिन्छ ।






