मङ्सिर १९ । बैतडीको सूर्या गाउँपालिका–५ कठेगौड नजिक मिनि ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। सूर्या गाउँपालिका–४ सन्सेरीमाण्डौबाट धनगढीतर्फ जाँदै गरेको भे १ क १६३९ नम्बरको मिनि ट्रक बिहीबार राति करिब १२ बजे दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा परेर ट्रक चालक तथा सूर्या गाउँपालिका–४ निवासी २९ वर्षीय नरेश महराको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।
दुर्घटनाका बेला ट्रक खाली रहेको र चालक मात्र सवार रहेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान करिब ८ बजे स्थानीयले सडकबाट ट्रक खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाउँदै रौलेश्वर प्रहरी चौकीबाट टोली खटिएको प्रहरीले बताएको छ।






