Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

नेपाल आयल निगमद्वारा इन्धनको मूल्य घटाइयो, ग्यासको मूल्य यथावत

पुस १७ गते, पोखरा  । 

नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिको बैठकले खुद्रा बिक्री मूल्य समायोजन गर्ने निर्णय गरेको हो । नयाँ मूल्य बिहीबार बिहानदेखि लागू हुने निगमले जनाएको छ ।

आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ १९ पैसा, डिजेलमा ५ रुपैयाँ ६ पैसा र हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ १५ पैसा घटाएर नयाँ मूल्य पठाएको निगमले जानकारी दिएको छ । सोही आधारमा निगमले पेट्रोल प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँले घटाएको हो ।

यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ ।

यद्यपि, एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ ३५ पैसाले बढेर आएको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले स्पष्ट गरेको छ ।

नयाँ मूल्यसूचीअनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका क्षेत्रमा पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम गरिएको छ । डिजेल तथा मट्टितेलको मूल्य क्रमशः पहिलो वर्गमा १३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १३६ रुपैयाँ र तेस्रो वर्गमा १३७ रुपैयाँ प्रतिलिटर तोकिएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछन् । दोस्रो वर्गमा सुर्खेत र दाङ समेटिएका छन् भने तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल रहेका छन् ।

इन्धनको मूल्य घटेसँगै उपभोक्ताले केही राहत महसुस गर्ने अपेक्षा गरिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom