पुस ३० गते, सर्लाही — सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकरप्रसाद कुशवाहासहित आठ जनाविरुद्ध तीन लाख ८२ हजार ५३ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भएको किशोरीका लागि खेलौना बनाउने तालिम कार्यक्रम सम्झौताबमोजिम सञ्चालन नगरी नगराइ, झुट्टा तथा नक्कली बिल–भरपाई र कागजात तयार गरी गराइ भुक्तानी दिइ–लिइ भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लगाइएको छ।
आयोगका अनुसार नगर प्रमुख कुशवाहासहित बलरा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मनोज मोहन कुमार सिंह, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, लेखापाल राज कुमार महतो, तथा तत्कालीन योजना शाखा प्रमुख उदयकुमार साह विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
यसैगरी सोही प्रकरणमा शान्ति विकास कल्याण केन्द्र नेपाल, गौर–८, रौतहटका अध्यक्ष सविन्द्र नारायण साह, सदस्य उमेश कुमार पासवान र सदस्य जाजुल मिया कवारी विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ।
आयोगका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (९) को देहाय (ङ) तथा उपदफा (४) बमोजिमको कसुरमा बिगो रकम तीन लाख ८२ हजार ५३ रुपैयाँ कायम गरी सजाय हुन मागदाबी लिई बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।






