सर्लाही — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकामा किशोरीहरूका लागि खेलौना बनाउने तालिम को नाममा भएको अनियमिततामा संलग्न व्यक्तिहरूविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरिएको भनिएको उक्त तालिम ३० कार्यदिन सञ्चालन हुनुपर्ने भए पनि वास्तविक रूपमा जम्मा ५ दिन मात्र सञ्चालन गरिएको पाइएको छ। तालिम सञ्चालन नै नगरी वा आंशिक रूपमा मात्र सञ्चालन गरेर सहभागीहरूको झुट्टा हस्ताक्षर तथा नक्कली कागजात तयार गरी तीन लाख ८२ हजार ५३ रुपैयाँ भुक्तानी लिइएको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको छ।
अनुसन्धानका क्रममा नगर प्रमुख, सम्बन्धित वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, लेखापाल तथा गैरसरकारी संस्थाका पदाधिकारीहरूको आपसी मिलेमतोमा सरकारी रकम दुरुपयोग गरी भ्रष्टाचार गरिएको ठहर गरिएको आयोगले जनाएको छ।
अख्तियारले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दण्डनीय कसुर ठहर गर्दै कैद, जरिवाना तथा बिगो रकम असुल उपर गर्न मागदाबी लिई विशेष अदालतमा अभियोग दायर गरेको हो।






