प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरू भावी प्रधानमन्त्रीका नाम सार्वजनिक गर्दै चुनावी अभियानमा सक्रिय बनेका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरूले आफ्ना शीर्ष नेताहरूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा अघि सारेका हुन्।
नेपाली कांग्रेसले शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ। उता, नेकपा (एमाले)ले भने यसअघि नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने निर्णय गरिसकेको जनाएको छ। पार्टी उपमहासचिव लेखराज भट्टका अनुसार राष्ट्रियता र समृद्धिको एजेन्डामा स्पष्ट अडान लिने नेताका रूपमा अध्यक्ष ओलीलाई नै अघि सारिएको हो।
नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको दावेदारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। नेता देवप्रसाद गुरुङले पार्टीले बहुमत प्राप्त गरेमा प्रचण्ड स्वाभाविक रूपमा प्रधानमन्त्री बन्ने बताउँदै, निर्वाचन परिणामपछि मात्र अन्तिम निष्कर्ष निस्कने उल्लेख गर्नुभयो। उहाँका अनुसार माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठजस्ता अन्य नेताहरू पनि नेतृत्वका लागि सक्षम छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने जनकपुरधाममा आयोजित बृहत् सभामार्फत काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र (बालेन) शाहलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ। पार्टी सभापति रवि लामिछानेले भ्रष्टाचार नियन्त्रण र सुशासनका मुद्दालाई प्राथमिकतामा राख्दै शाहलाई अगाडि सारिएको जानकारी दिनुभयो।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ भने श्रम संस्कृति पार्टीले अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्वप्रमुख हर्कराज राई साम्पाङलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै चुनावी प्रचारमा जुटेको छ।






