Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

म्यादी प्रहरीको पोसाक खरिदमा करोडौँको अनियमितता, मूल्यभन्दा दोब्बर बजेट स्वीकृत


निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई उपलब्ध गराइने पोसाक खरिद प्रक्रियामा ठूलो आर्थिक अनियमितता भएको तथ्य बाहिर आएको छ। सीमित ठेकेदार र आपूर्तिकर्तासँग मिलेमतो गरी बजार मूल्य र वास्तविक लागतभन्दा अत्यधिक मूल्यमा पोसाक खरिद गरिएको पाइएको हो।

नेपाल प्रहरी र केही ठेकेदारबीचको साँठगाँठका कारण निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढी रकम अनावश्यक रूपमा खर्च गरिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरी मानवस्रोत विकास विभागले निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि–२०८२ अनुसार प्रक्रिया पूरा गरी हाल म्यादी प्रहरीलाई तालिमपछि फिल्डमा खटाइरहेको छ। तर उनीहरूलाई प्रयोग गराइने पोसाकको खरिदमा भने राज्यकोषलाई ठूलो क्षति पुग्ने गरी मूल्य निर्धारण गरिएको देखिएको छ।

प्रहरी अधिकारीहरूका अनुसार म्यादी प्रहरीलाई दिने दुई जोर चुस्ताको बजार मूल्य करिब २ हजार रुपैयाँ पर्छ। त्यसैगरी कपडाको जुत्ता करिब ६ सय रुपैयाँ, बेल्ट (पेटी) १ सय ५० रुपैयाँ, स्वेटर ५ सय रुपैयाँ, दुई जोर मोजा १ सय ५० रुपैयाँ र लाठी १ सय रुपैयाँमै पाइन्छ।

यसरी हेर्दा एक जना म्यादी प्रहरीका लागि आवश्यक सम्पूर्ण पोसाक सामग्रीको कुल बजार मूल्य करिब ३ हजार ५ सय रुपैयाँ मात्र हुन्छ। कपडा तथा जुत्ता उत्पादकहरूले भने यो मूल्यभन्दा पनि केही सामग्री अझ सस्तोमा उपलब्ध गराउन सकिने बताउँदै आएका छन्। स्वेटरको मूल्य भने गुणस्तरका आधारमा फरक हुन सक्ने उनीहरूको भनाइ छ।

तर प्रहरी प्रधान कार्यालयले भने ठेकेदारसँगको सहमतिमा एक जना निर्वाचन प्रहरीका लागि पोसाक खरिद गर्न ६ हजार ५ सय रुपैयाँ बजेट स्वीकृत गराएको छ। यसले प्रति व्यक्ति झण्डै दोब्बर रकम खर्च देखाएको छ।

एकीकृत कार्यविधि–२०८२ मा निर्वाचन प्रहरीलाई पोसाकबापत नेपाल प्रहरी प्रधान कार्यालयले तोकेको दररेटअनुसार रकम उपलब्ध गराइने व्यवस्था छ। तर यो रकम प्रत्यक्ष म्यादी प्रहरीलाई दिने वा जिल्ला प्रहरी कार्यालयमार्फत व्यवस्थापन गर्ने भन्ने विषय स्पष्ट रूपमा उल्लेख गरिएको छैन।

यसबीच प्रहरी प्रधान कार्यालयले भने पोसाकबापतको रकम सम्बन्धित निर्वाचन प्रहरीलाई नै उपलब्ध गराइने व्यवस्था रहेको दाबी गरेको छ। कार्यविधिअनुसार म्यादी प्रहरीका लागि चुस्ता (सर्ट–पाइन्ट), जुत्ता, मोजा, बेल्ट, स्वेटर र लाठी अनिवार्य रूपमा उपलब्ध गराइनुपर्ने व्यवस्था छ।

प्रहरी उच्च स्रोतका अनुसार यी सामग्री ठेकेदारमार्फत प्रति म्यादी ६ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने सहमतिका आधारमा बजेट पास गरिएको हो। तर यही सामग्रीको वास्तविक बजार मूल्य करिब ३ हजार ५ सय रुपैयाँ मात्रै पर्ने कुरा स्वयं प्रहरी अधिकारीहरूले स्वीकार गरेका छन्।

यस प्रकरणले निर्वाचन सुरक्षाको नाममा भएको खर्चमा गम्भीर प्रश्न उठाएको छ भने म्यादी प्रहरीको पोसाक खरिदमा भएको भनिएको सेटिङ र अनियमिततामाथि छानबिनको मागसमेत बढ्दै गएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom