पोखरा महानगरपालिका–१५ मा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले विद्यालय बाहिर आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा बधाइ ज्ञापन गरेको छ।
हालै सम्पन्न अङ्ग्रेजी हिज्जे प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्ने सुवानी खड्का, आर्सु सुनाम, आरध्या जि.टी. र पुजा ढकाललाई विद्यालयले विशेष कार्यक्रमबीच सम्मान गर्दै बधाइ दिएको हो। विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको मेहनतले यस्तो उपलब्धि हासिल भएको भन्दै विद्यालय परिवारले उनीहरूको प्रशंसा गरेको छ।
कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक मोतिराम गुरुङले प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गर्दै बधाइ ज्ञापन गर्नुभयो। उहाँले बोल्दै भन्नुभयो, “विद्यार्थीहरूको लगनशीलता, शिक्षकहरूको मार्गदर्शन र अभिभावकको साथका कारण यस्ता सफलता सम्भव भएका हुन्। यस्ता उपलब्धिले विद्यालयको पहिचान थप उजागर गर्नुका साथै अन्य विद्यार्थीलाई पनि प्रेरणा मिल्नेछ।”
सम्मान कार्यक्रममा शिक्षक, विद्यार्थी तथा विद्यालय प्रशासनको उपस्थिति रहेको थियो। विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।







