मधेश प्रदेश सरकारले यही माघ १८ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) को अवसरमा उक्त दिन सार्वजनिक बिदा दिइने भएको हो।
प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले आज जारी गरेको सूचनाअनुसार मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको निर्णयअनुसार माघ १८ गते सार्वजनिक बिदा तोकिएको हो। सूचनामा प्रदेशभित्र बसोबास गर्ने दलित तथा सीमान्तकृत समुदायप्रति सम्मान प्रकट गर्नका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ।
रविदास जयन्तीको अवसरमा मधेश प्रदेशका विभिन्न स्थानमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिँदै आएको छ। प्रदेश सरकारको यो निर्णयले समुदायको पहिचान, सम्मान र समावेशी मूल्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।






