कपिलवस्तुमा नक्कली नेपाली नोट कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको निगरानी र खोजतलासका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय गोरुसिङ बाट खटिएको संयुक्त टोलीले मिति २०८२/११/०१ गते बुद्धभूमि नगरपालिका–६, कोहनौलिया बस्ने ५० वर्षीय सद्ध यादवलाई पक्राउ गरेको थियो। उनको साथमा गरिएको खानतलासीमा १,००० दरका ९९ थान र विभिन्न स्थानमा कारोबार गरिएका थप २ थान गरी जम्मा १ लाख १ हजार रुपैयाँ बराबरका १०१ थान नक्कली जस्तो देखिने नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धानका क्रममा यस कारोबारमा संलग्न अन्य तीन जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा बुद्धभूमि नगरपालिका–६ का अन्दाजी १९ वर्षीय अजय यादव, कपिलवस्तु नगरपालिका–८ कचरिहवा बस्ने ५२ वर्षीय संजय गुप्ता उर्फ पटेश्वरी प्रसाद गुप्ता तथा अन्दाजी ५० वर्षीया साजिदा खातुन रहेका छन्।
प्रहरीका अनुसार नक्कली नोट बुद्धभूमि नगरपालिका–१० स्थित एक पेट्रोल पम्प र तरकारी पसलमा तथा कपिलवस्तु नगरपालिका–३ स्थित पेट्रोल पम्पमा कारोबार भएको खुलेको छ।
उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा मिति २०८२/११/०४ गते कपिलवस्तु जिल्ला अदालत बाट ८ दिनको म्याद थप लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।






