सिद्धार्थ राजमार्गमा ३ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ, ७ दिन म्याद थप
ब्राइटर खबर February 20, 2026
स्याङ्जा , फाल्गुन ८ गते ।
स्याङ्जाको भिरकोट क्षेत्रमा लागूऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा सञ्चालन गरिएको चेकजाँचका क्रममा ब्राउन सुगर जस्तो देखिने ३ ग्राम खैरो पदार्थ बरामद भएको हो।
फाल्गुन ०७ गते राति करिब १० बजे जिल्ला स्याङ्जा, भिरकोट नगरपालिका–४ छ्याङ्छाङ्दीस्थित सिद्धार्थ राजमार्ग मा चेकजाँच गर्ने क्रममा वालिङबाट भिरकोटतर्फ आउँदै गरेको ग.२३ प.४०४२ नम्बरको स्कूटर रोकी जाँच गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुम बाट खटिएको संयुक्त टोलीले स्कूटरमा सवार दुई जनाको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ।
पक्राउ पर्नेहरूमा वालिङ नगरपालिका–८ बस्ने ३६ वर्षीय रोशन परियार र ३४ वर्षीय पुकार लोहनी रहेका छन्। उनीहरूको साथबाट बरामद ३ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ तथा प्रयोग गरिएको स्कूटर प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनासम्बन्धी थप अनुसन्धानका लागि मिति २०८२/११/०८ गते स्याङ्जा जिल्ला अदालत बाट ७ दिनको म्याद थप अनुमति लिई लागुऔषध सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।