![]() |
| फोटो :नेपाल समाचार पत्र |
सौन्दर्य प्रतियोगिताकी प्रतियोगी सलोनी विष्टले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि मौखिक यौन दुर्व्यवहार भएको आरोप सार्वजनिक गरेकी छन्। उनले सामाजिक सञ्जाल टिकटकमार्फत भिडियो सार्वजनिक गर्दै आफूले मानसिक रूपमा ठूलो दबाब खेप्नुपरेको बताएकी हुन्।
विष्टका अनुसार उमङ्ग क्रियसनका संस्थापक उद्धव अधिकारीले आफूलाई भेट्न बोलाई अनुचित प्रस्ताव राखेका थिए। उनले प्रतियोगिताका लागि आवश्यक सामग्री पठाउने क्रममा आयोजकबाट आपत्तिजनक टिप्पणी र प्रस्ताव आएको दाबी गरेकी छन्।
उनले स्विमसुट फोटो र भिडियो पठाएपछि आयोजकले शरीरको बनावटबारे अनुचित टिप्पणी गरेको तथा थप व्यक्तिगत भेटघाटका लागि दबाब दिएको आरोप लगाएकी छन्। विष्टले नगरकोट घुम्न जाने प्रस्तावसमेत आएको र पछि भेटघाटका क्रममा थप असहज प्रश्नहरू सोधिएको बताएकी छन्।
भिडियोमा उनले प्रतियोगितामा अगाडि बढ्न अस्वाभाविक सर्तहरू स्वीकार गर्न दबाब दिइएको आरोप लगाउँदै आफू गम्भीर मानसिक तनावमा परेको उल्लेख गरेकी छन्। साथै अन्य प्रतियोगीहरू पनि यस्तै अनुभवबाट गुज्रिएको हुन सक्ने आशंका व्यक्त गर्दै उनले सम्बन्धित निकाय र समाजसँग सहयोगको अपिल गरेकी छन्।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा आयोजक पक्ष सम्पर्कमा आएको छैन। आरोपबारे उनीहरूले हालसम्म सार्वजनिक धारणा व्यक्त गरेका छैनन्।
यसअघि मिस ग्रान्ड नेपाल तथा मिस विभा २०२५ की जेसिका सिंह ठकुरीले पनि आयोजकबाट मानसिक दबाब र दुर्व्यवहार भएको आरोप लगाउँदै आफ्नो ताज त्यागेकी थिइन्।
घटनाबारे आधिकारिक अनुसन्धान र प्रमाणका आधारमा मात्रै अन्तिम निष्कर्ष आउने बताइएको छ।






