स्याङ्जाको पुतलीबजार नगरपालिका–१० सुम्रेखोला क्षेत्रस्थित सिद्धार्थ राजमार्गमा दम्पतीमाथि कुटपिट गरेको आरोपमा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
माघ २३ गते राति करिब १० बजे ग.२४ प. ५१०१ नम्बरको स्कुटरमा सवार ४० वर्षीय पृथ्वीराज अर्याल र उनकी श्रीमती ४० वर्षीया संजिता नेपाल अर्याललाई रोक्दै केही व्यक्तिले कुटपिट गरी घाइते बनाएको सूचना प्राप्त भएपछि प्रहरीले खोजतलास तीव्र बनाएको थियो। घटनापछि फरार रहेका आरोपितहरूलाई मिति २०८२ माघ २४ गतेसम्म नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ पर्नेहरूमा पुतलीबजार–१० सुम्रेखोला ओडारे बस्ने २८ वर्षीय ‘हाकु काले’ भन्ने विनोद बहादुर अर्याल, ३० वर्षीय प्रविन राना, २५ वर्षीय रोहित गुरुङ, २७ वर्षीय अनुप राना तथा कान्छीबजार बस्ने २३ वर्षीय ‘महेश’ भन्ने चेतनाथ अधिकारी रहेका छन्।
घटनामा प्रयोग गरिएको ग.५ प.१९१ र ग.१० प.४७१३ नम्बरका दुई वटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइते दम्पतीको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी छ।






