स्याङ्जामा सार्वजनिक सवारीमा सवार एक नाबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा जीप चालकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८२ चैत १६ गते अपराह्न करिब ४:३० बजे पोखराबाट वालिङतर्फ जाँदै गरेको सार्वजनिक जीपका चालकले सवारीमा सवार १६ वर्षीया बालिकामाथि ‘Bad Touch’ लगायत अनुचित व्यवहार गरेको आरोप लागेको हो।
उक्त घटनापछि वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी पोष्ट रामबाच्छाबाट खटिएको टोलीले जीप चालक ४९ वर्षीय अन बहादुर गुरुङलाई नियन्त्रणमा लिएको हो। उनी स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका–७ निवासी हुन्।
प्रहरीले ग.१ ज. ७०६६ नम्बरको जीपसहित चालकलाई वालिङ नगरपालिका–१ रामबाच्छा क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।
घटनासम्बन्धी अनुसन्धानका लागि स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई बाल यौन दुरुपयोग सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।







