Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

स्वतन्त्र पत्रकार संघको पाँचौँ अधिवेशन गैँडाकोटमा सुरु


नवलपरासी  — स्वतन्त्र पत्रकार संघ नेपालको चौधौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन आज शुक्रबारदेखि नवलपुरको गैँडाकोटमा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने अधिवेशनले भोलि शनिबार नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ।

नेपाल पत्रकार महासंघमा राजनीतिक दलसम्बद्ध पत्रकार संगठनको सिन्डिकेटको विरोध गर्दै २०६८ सालमा स्थापना भएको संघ हाल ३५ जिल्लामा विस्तार भइसकेको छ।

गैँडाकोटस्थित मौलाकालिका मन्दिर नजिक भण्डारी समाजको सभाहलमा हुने अधिवेशनका क्रममा जिल्ला अध्यक्षहरूलाई सम्मान गरिनेछ भने २५ हजार रुपैयाँ राशिको ‘सामाजिक पत्रकारिता पुरस्कार’ पोखराका अग्रज पत्रकार उदयबहादुर अमात्यलाई प्रदान गरिनेछ।

अधिवेशनको पूर्वसन्ध्यामा संघले जिल्ला अध्यक्षहरूबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सहभागीहरूले केन्द्रीय समितिलाई सशक्त बनाउँदै जिल्लाहरूलाई पर्याप्त सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।

कास्कीका अध्यक्ष एवम् ब्राइटर मिडिया नेटवर्कका सम्पादक डिआर काफ्लेले पछिल्लो समय दलीय पत्रकारिताप्रति बढ्दो आलोचनालाई ध्यानमा राख्दै स्वतन्त्र पत्रकार संघले आफ्नो भूमिका अझ फराकिलो बनाउनु पर्ने बताए। रुपन्देहीका अध्यक्ष प्रेमबहादुर बुढाथोकीले संघलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने धारणा राखे।

त्यस्तै मकवानपुरका अध्यक्ष राजन घिमिरे अनुरागले पत्रकारको पारिश्रमिक, हकहित र सुरक्षाका विषयमा संघले अझ सशक्त भूमिका खेल्नुपर्ने बताए। काठमाडौंका अध्यक्ष कृष्णराज तिमल्सिनाले व्यावसायिक पत्रकारितामा जोड दिनुपर्ने उल्लेख गरे भने अर्घाखाँचीका अध्यक्ष गुरुदेव खनालले संघलाई नयाँ ऊर्जा सहित अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

अधिवेशनकै अवसरमा ‘स्वतन्त्र सन्देश’ स्मारिकाको विमोचन समेत गरिने कार्यक्रम रहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom