प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा खटिएका प्रहरी तथा कर्मचारीहरूको विभिन्न जिल्लामा मृत्यु भएको घटनाले चिन्ता बढाएको छ।
सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित मतदान केन्द्रमा खटिएका ४२ वर्षीय रघुनाथ महतो अचानक बेहोस भई उपचारका क्रममा मृत्यु भएको हो।
यसैगरी कञ्चनपुरमा निर्वाचन ड्युटीमा रहेका ३५ वर्षीय मानसिंह राना अचेत भएपछि अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। उनी उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको बताइएको छ।
बैतडीमा एक महिनाको अवधिमा तीन जना निर्वाचन प्रहरीको मृत्यु भएको छ भने मकवानपुरमा सवारी साधनको ठक्करबाट २४ वर्षीय पवन कुमार शाहको ज्यान गएको छ।
यस्तै, रामेछापमा सवारी दुर्घटनामा परी एक प्रहरी सहायक निरीक्षक (असई) र एक मतदान अधिकृतको मृत्यु भएको जनाइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षामा खटिएका ११ जना निर्वाचन प्रहरी र एक जना असईको मृत्यु भइसकेको छ। विभिन्न जिल्लामा भएका यी घटनाले निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीको सुरक्षा व्यवस्थाप्रति थप चिन्ता उत्पन्न गरेको छ।






