Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

स्याङ्जामा मतदान गर्न आएका फरार कसूरदार पक्राउ, अदालतमा बुझाइयो


स्याङ्जा , फाल्गुन २५ गते ।

स्याङ्जामा मतदानको समयमा लुकिछिपी मतदान गर्न आएका फरार कसूरदारहरू पक्राउ परेका छन्। सम्मानित अदालतबाट भएको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पूर्व रणनीति अनुसार सञ्चालन गरेको अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार विभिन्न मुद्दामा अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार व्यक्तिहरूलाई मतदानपश्चात् जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेका कसूरदारहरूलाई मिति २०८२ फागुन २१ गते नियन्त्रणमा लिई कैद भुक्तान तथा जरिवाना असुलका लागि मिति २०८२ फागुन २५ गते स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अर्जुनचौपारी गाउँपालिका–५ बस्ने ४० वर्षीय प्रेमबहादुर दर्जी, पुतलीबजार नगरपालिका–५ सुरौदी बस्ने ५८ वर्षीय बुद्धिमान शाही तथा आँधिखोला गाउँपालिका–४ सरादी बस्ने ७४ वर्षीय रामबहादुर कामीलाई पक्राउ गरिएको हो।

उनीहरूमाथि कर्तव्य ज्यान, बैंकिङ कसुर तथा बहुविवाह लगायतका मुद्दामा अदालतबाट कैद र जरिवानाको फैसला भइसकेको थियो। तीमध्ये कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय, बैंकिङ कसुरमा १ लाख ६३ हजार रुपैयाँ जरिवाना तथा बहुविवाह मुद्दामा २ वर्ष ५ महिना १३ दिन कैदसहित जरिवानाको फैसला भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै फरार कसूरदारहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिने जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom