देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ। विभिन्न स्थानमा भएको दुर्घटनामा घाइते भएकामध्ये अधिकांशको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौंको तारकेश्वर नगरपालिका–४ बालाजु फुलबारी गेट नजिक बागमती प्रदेश ०२–०५७ प ७४५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री तारकेश्वर नगरपालिका–९ गुम्बा बस्ने, रामेछाप घर भएकी ६९ वर्षीया फुलमाया खड्काको आइतबार बिहान मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी खड्काको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहटको परोहा नगरपालिका–८ स्थित सडकमा सरमुजवाबाट भारतको बलुवा टोलतर्फ जाँदै गरेको बिआर ०५एक्यू ०४३४ नम्बरको मोटरसाइकलबाट लडेर सोही मोटरसाइकलमा सवार बौधीमाई नगरपालिका–४ सरमुजवा टोल बस्ने ७० वर्षीया श्रीदेवी जैसवालको शनिबार दिउँसो मृत्यु भएको छ। गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित सडकमा ना ५ ख ६२६३ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्री सोही स्थानका १३ वर्षीय कृष्ण सहनीको शनिबार दिउँसो मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बस चालकलाई नियन्त्रणमा लिइएको छ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ चिसापानी बजारमा दमारबाट चिसापानीतर्फ आउँदै गरेको साइकल अनियन्त्रित भई दुर्घटना हुँदा सबैला नगरपालिका–१३ रघुनाथपुर बस्ने ५० वर्षीय महेन्द्र पासवानको मृत्यु भएको छ। शनिबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको जनकपुरस्थित न्यूरो अस्पतालमा उपचारपछि थप उपचारका लागि धरान लैजाने क्रममा राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
लमजुङको सुन्दरबजार नगरपालिका–७ कुमालटारस्थित सडकमा पाउदीबाट सुन्दरबजारतर्फ आउँदै गरेको गण्डकी प्रदेश ०३–००१ ह ००४० नम्बरको अटोबाट खसेर सोही नगरपालिका–६ सैनिक टोल बस्ने २९ वर्षीया चुनु गुरुङको शनिबार बेलुकी मृत्यु भएको छ। गम्भीर घाइते भएकी उनको नमुना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अटो चालकलाई नियन्त्रणमा लिइएको छ।
सर्लाहीको हरिवन नगरपालिका–२ पाकरगाछीस्थित सडकमा हरिवनबाट लालभितीतर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प ८९७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक ३२ वर्षीय किरण लामाको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै चितवनको कालिका नगरपालिका–९ दब्यटारस्थित सडकमा उर्पदानगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ह ०३१५ नम्बरको अटो अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा अटो चालक राप्ती नगरपालिका–९ बस्ने ३९ वर्षीय पूर्ण विकसहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकाहरूको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अटोमा सवार एक जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
यी सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।






