डेभिजफल क्लब पोखरामा नयाँ नेतृत्व, अध्यक्षमा दिपक सुबेदी
ब्राइटर खबर April 12, 2026
पोखरा — गुप्तेश्वर महादेव गुफा नजिकै अवस्थित डेभिजफल क्लब, पोखरा–१७ छोरेपाटनको १४औं साधारणसभा तथा ११औं अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।
अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि दिपक सुबेदी को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।
कार्यक्रममा पोखरा–१७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगी ले युवाशक्तिलाई सृजनशील उत्पादनसँग जोड्दै मर्यादित रोजगारी सिर्जनालाई स्थानीय सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले युवाहरूलाई नागरिकका आवश्यकता बुझेर योजनाबद्ध र दिगो विकासका कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो।
क्लबका सल्लाहकार झपिन्द्रराज रेग्मी ले क्लबले छात्रवृत्ति अक्षय कोष, खेलकुद, रक्तदान, सरसफाइ र वृक्षारोपणजस्ता सामाजिक गतिविधिमा खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्नुभयो।
क्लबका अध्यक्ष विनम गुरुङले २०५५ सालमा स्थापना भएको क्लब निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै जनविश्वास जित्न सफल भएको उल्लेख गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष सुबेदीले ‘सामाजिक सेवा र युवा सामर्थ्य’लाई मूल मन्त्र बनाएर क्लबलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले डिजिटल सूचना प्रणाली, नेतृत्व विकास, सरसफाइ, वृक्षारोपण, पर्यटन प्रवर्द्धन, पार्क निर्माण, पार्किङ व्यवस्थापन तथा निःशुल्क वाइफाइ विस्तारजस्ता योजनालाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो।
अधिवेशन सम्पन्न गर्न गठित निर्वाचन मण्डलमा संयोजक युवक लामिछाने तथा सदस्यहरू विजय राज आचार्य, खेमराज बराल, नारायण अधिकारी र रविन गुरुङ को सक्रिय भूमिका रहेको थियो