पोखरा–१५ रामबजारमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले संचालक समिति, लेखा समिति तथा विभिन्न उपसमितिमा आबद्ध सदस्यहरूलाई ग्रामीण सहकारीको अभ्यास बुझाउने र आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले बागलुङ भगवती मन्दिर को दर्शनसँगै रुकुम, जाजरकोट, दैलेख, कालिकोट, जुम्ला हुँदै रारा ताल सम्मको भ्रमण गरेको हो।
अध्यक्ष नबराज तिवारी को नेतृत्व तथा सचिव धनराज पुरी को संयोजकत्वमा सम्पन्न भ्रमणका क्रममा जुम्लास्थित चन्दननाथ नौमुडे बचत तथा ऋण सहकारी संस्था को अवलोकन गरिएको थियो।
अवलोकनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा चन्दननाथ सहकारीका अध्यक्ष तिर्थसिंह कठायत ले टाढाबाट आएको भ्रमण टोलीप्रति आभार व्यक्त गर्दै दुर्गम भौगोलिक अवस्थाबीच पनि जुम्लाको प्राकृतिक सौन्दर्यले सबैलाई आकर्षित गर्ने बताए।
त्यस्तै, संगम सहकारीका अध्यक्ष तिवारीले सिकाइलाई निरन्तरता दिने अभियानमा आफूहरू अघि बढिरहेको उल्लेख गर्दै प्राप्त आतिथ्यप्रति धन्यवाद व्यक्त गरे र जुम्लाको टोलीलाई पोखरा भ्रमणको निम्तो दिए।
संस्थागत प्रस्तुति दिँदै व्यवस्थापक श्रीकृष्ण आचार्य ले सहकारीको करिब ६ करोडको वासलात रहेको, सदस्यलाई अधिकतम तीन लाखसम्म कर्जा प्रवाह गरिने तथा १० प्रतिशत सेयर, २० प्रतिशत बचत राखी ७० प्रतिशत मात्रै कर्जा उपभोग गर्न पाइने व्यवस्था रहेको जानकारी गराए।
भ्रमण टोलीले जुम्लामा जिल्ला सहकारी संघ जुम्ला लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूसँग पनि अन्तरक्रिया गरेको थियो।
रारातर्फ जाने क्रममा बिग्रिएका सडकका कारण बाटोमा अवरोध सिर्जना भई करिब चार घण्टा प्रतीक्षा गर्नुपरेको थियो। त्यसपछि गाडी परिवर्तन गरी टोली रारा राष्ट्रिय निकुञ्ज भित्र पर्ने रारा ताल पुगेको थियो।
रारा पुगेपछि सदस्यहरूले प्राकृतिक सौन्दर्यमा रमाउँदै यात्रा सफल भएको अनुभूति गरेका थिए। टोलीले सिञ्जा भ्याली को समेत अवलोकन गरेको थियो, जसलाई नेपाली खस सभ्यताको उद्गमस्थल मानिन्छ।
फर्कने क्रममा टोलीले दैलेखस्थित ग्यास उत्खनन क्षेत्र, सुर्खेतको काँक्रे बिहार तथा देउती बजै मन्दिर मा दर्शन गरी दाङ हुँदै पोखरा फर्किएको संयोजक पुरीले जानकारी दिए।
उक्त भ्रमणले सहकारीबीच अनुभव आदानप्रदानसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याएको निष्कर्ष निकालिएको छ।






