Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

पोखरामा ‘स्विप अप्रेसन’ : १८ जना र ४१ सवारीसाधन कारबाहीमा


वैशाख २ गते । कास्की प्रहरीले नयाँ वर्ष २०८३ को पहिलो दिन पोखराका विभिन्न स्थानमा ‘स्विप अप्रेसन’ सञ्चालन गर्दै १८ जना व्यक्ति र ४१ वटा सवारीसाधनलाई कारबाहीको दायरामा ल्याएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी युनिटहरूले सञ्चालन गरेको उक्त अभियान मादक पदार्थ तथा लागुऔषध सेवन, मापसे गरेर सवारी चलाउने, सवारीसाधन मोडिफाई गरी ध्वनि प्रदूषण गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधि नियन्त्रणमा केन्द्रित थियो।

प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेत का अनुसार वैशाख १ गते दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको अप्रेसनमा विभिन्न स्थानबाट नियम उल्लङ्घन गर्नेहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको हो।

अभियानअन्तर्गत पोखरा–११ काहुँडाँडाबाट १० सवारीसाधन र ८ जना, पोखरा–१४ चाउथेबाट ९ सवारीसाधन कारबाहीमा परेका छन्। त्यस्तै पोखरा–१८ मेथलाङबाट ६ सवारीसाधन कारबाही गरी छाडिएको तथा ७ सवारीसाधन र ५ जनालाई नियन्त्रणमा लिइएको छ।

यसैगरी बेगनास क्षेत्रबाट ८ सवारीसाधन कारबाही गरी छाडिएको प्रहरीले जनाएको छ। साथै, लागुऔषध सेवन गरी सवारी चलाएको आरोपमा १ जना चालकसहित थप ४ जनालाई नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिइएका व्यक्ति तथा सवारीसाधनमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom