कपिलवस्तु । शिवराज नगरपालिका–चन्द्रौटाबाट सुनका गहना चोरी गरेको आरोपमा दुई पाकिस्तानी महिला पक्राउ परेका छन्।
वडा प्रहरी कार्यालय चन्द्रौटा को टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंह का अनुसार पक्राउ पर्नेमा २० वर्षीया विवि कलसुम र ४१ वर्षीया सहबाना रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट पाकिस्तानी पासपोर्टसमेत बरामद गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार चैत ३० गते साँझ करिब ५:३० बजे उनीहरू ग्राहकको रूपमा सुन पसलमा प्रवेश गरी गहना किन्ने बहानामा चोरी गरेका थिए। पसलबाट बाहिरिने क्रममा मास्कमाथि बुर्का लगाएर पहिचान लुकाउने प्रयास गरेको पनि खुलेको छ।
उनीहरूले रुपन्देहीको योगीकुटी, कपिलवस्तुको तौलिहवा र चन्द्रौटामा गरी तीन स्थानमा चोरी गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ। चोरीको क्रममा नगद देखाउने तथा गहना हेर्ने बहानामा सुन लुकाउने शैली अपनाएको पाइएको छ।
हाल उनीहरूविरुद्ध चोरी तथा ठगीसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।






