रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा शीतभण्डार निर्माणका क्रममा अनियमितता भएको आरोपमा आयोगले बिहीबार विशेष अदालत मा आरोपपत्र दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार मुद्दा दायर गरिएकामध्ये तत्कालीन सचिव अधिकारीसहित वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल र सह–लेखापाल अजय मिश्र रहेका छन्।
यसैगरी विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा व्यवस्थापकहरू अशोककुमार तिवारी, जयराम गडेरिया, अशोककुमार त्रिपाठी, दुर्गाप्रसाद कुर्मी, जितेन्द्र यादव, कृष्णकुमार सिंह, फुलमन भर र ओमप्रकाश गुप्ताविरुद्ध पनि मुद्दा दायर गरिएको छ। साथै, मृतक श्यामसुन्दर यादवकी हकवाला श्रीमती इनरावती यादव, कतबारु गोसाईकी हकवाला श्रीमती राजपति गोसाई तथा मेगा माइण्डस् आर्किटेक्स एण्ड स्ट्रक्चर प्रा.लि.का सञ्चालक सुगम कोइराला पनि प्रतिवादी बनाइएका छन्।
आर्थिक वर्ष २०७६/७७ मा सम्मरीमाई गाउँपालिका–४ सिद्धनाथस्थित शीतभण्डार निर्माण योजनामा प्रचलित कानुन विपरीत सम्झौता गरी काम सम्पन्न नगरी भुक्तानी लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
उक्त प्रकरणमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम ७१ लाख ९७ हजार ९८० रुपैयाँ बिगो कायम गरेको छ। सो रकम असुलउपरसहित कैद र जरिवानाको सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो।






