स्याङ्जा , वैशाख ६ गते। सिद्धार्थ राजमार्ग अन्तर्गत पुतलीबजार नगरपालिका–४ राङकोष क्षेत्रमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
आज बिहान करिब ८:३० बजे पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग.१ ख ९५६३ नम्बरको बस अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा बाट प्रहरी नायब निरीक्षक पुरुषोत्तम पौडेलको कमाण्डमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी प्रदेश अस्पताल पुतलीबजार मा उपचारका लागि पठाएको थियो।
दुर्घटनामा घाइते हुनेहरूमा बस चालक ४५ वर्षीय राजु कुमार बि.सी., पर्वत फलेवास–८ की ५५ वर्षीया रत्न कुवँर र लमजुङ मर्स्याङ्दी–२ धानपोखराका ७ वर्षीय अनुप घिमिरे रहेका छन्। तीनै जनाको सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
बसमा चालकसहित २१ जना सवार रहेकोमा अन्य सबै यात्रु सकुशल रहेका छन्। उनीहरूलाई अर्को बसको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






