पोखरा । पोखरा नगरक्षेत्रमा अनधिकृत रूपमा ‘पठाओ’ र ‘इनड्राइभ’ सेवा अफलाइन सञ्चालन गरी यात्रुसँग बढी भाडा असुल्ने तथा दुःख हैरानी दिने आरोपमा १३ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले मिति २०८३ वैशाख ३ गते पोखराका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार केही चालकहरू सम्बन्धित प्लेटफर्ममा आबद्ध रहे पनि अफलाइन रूपमा सेवा दिँदै तोकिएको भन्दा बढी भाडा असुल्ने, यात्रुलाई झुक्याउने तथा अनावश्यक हैरानी दिने कार्यमा संलग्न रहेको व्यापक गुनासोपछि कारबाही गरिएको हो।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमा पोखरा महानगरपालिका–८ आलुमाईला चोकका ३२ वर्षीय विष्णुबहादुर नेपाली, छोरेपाटनका ३६ वर्षीय राजन परियार, गौडाको मुखका ४६ वर्षीय लिलबहादुर गुरुङ, निर्मलपोखरीका २२ वर्षीय प्रबिण थापा, बिरौटाका ३१ वर्षीय नवीन थापा, रामबजारका ४६ वर्षीय दिपककुमार गुरुङ, रामबजारकै ५४ वर्षीय अम्मरबहादुर महतरा लगायत रहेका छन्।
त्यसैगरी, रुपा–७ का ३२ वर्षीय माधव कुईकेल, मादी–७ का ३३ वर्षीय बुद्धिबहादुर विक, बिरौटाका ३० वर्षीय बिक्की लामा, तनहुँ भानु–७ का ४० वर्षीय कृष्ण कुमाल, गोरखा घर भई पोखरा–१३ बस्ने ३२ वर्षीय मिनबहादुर थापा तथा सोही स्थानका २३ वर्षीय कृष्णबहादुर गुरुङ पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। साथै, यात्रु सेवामा अनियमितता गर्ने तथा ठगी गर्ने कार्य नगर्न सम्बन्धित सबैलाई सचेत गराएको छ





