स्याङ्जा जिल्लाको अर्जुन्चौपारी गाउँपालिका अन्तर्गत आग्रीखर्कमा काफ्ले बन्धुहरूको वार्षिक भेला सम्पन्न भएको छ। परम्परागत रूपमा हरेक वर्ष अक्षय तृतीया का दिन आयोजना गरिँदै आएको उक्त भेला यस वर्ष पनि उत्साहपूर्वक सम्पन्न गरिएको हो।
भेला काफ्ले बन्धु समूहका अध्यक्ष महोदत्त काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन सचिव नवीन काफ्लेले गर्नुभएको थियो। कार्यक्रममा अध्यक्षसहित विभिन्न बन्धुहरूले आ–आफ्ना धारणा राख्दै आपसी एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई अझ सुदृढ बनाउने विषयमा जोड दिएका थिए।
भेलाका क्रममा गत एक वर्षको अवधिमा निधन भएका बन्धुहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। यसले बन्धुहरूबीचको भावनात्मक एकता र पारिवारिक सम्बन्धको गहिराइलाई झल्काएको सहभागीहरूले बताएका छन्।
त्यसैगरी, समूहको आर्थिक गतिविधिबारे पनि विस्तृत जानकारी गराइएको थियो। समूहमा सञ्चित कोषको अवस्थाबारे जानकारी दिँदै व्यक्तिगत ऋण लिने सदस्यहरूका लागि ब्याजदर १५ प्रतिशत कायम गर्ने निर्णय गरिएको छ। साथै, समूहमा संकलित रकम आगामी वर्षदेखि कम्तीमा एक महिना अगावै समूहको खातामा बुझाउनुपर्ने व्यवस्था गर्ने सहमति भएको छ।
कार्यक्रमका विशेष आकर्षणका रूपमा समूहका अध्यक्ष महोदत्त काफ्लेले थानाको स्वरामा रहेको कुल मन्दिरको टहरा निर्माणका लागि आफ्नो तर्फबाट घडेरी व्यवस्थापन गर्ने तथा निर्माण कार्य अगाडि बढाउने घोषणा गर्नुभएको थियो। उक्त घोषणाले उपस्थित बन्धुहरूलाई उत्साहित बनाएको थियो।
भेलाले आगामी दिनमा दाजुभाइबीचको सहकार्य, आपसी सहयोग र एकताको भावनालाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। पारिवारिक तथा सामाजिक सम्बन्धलाई मजबुत बनाउने उद्देश्यसहित आयोजना गरिएको भेला सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।






