पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की ले सञ्चालन गरेको १० घण्टे ‘स्वीप अप्रेसन’मा १२२ जनालाई नियन्त्रणमा लिइएको छ।
मिति २०८३/०१/०९ गते राति ९ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सञ्चालन गरिएको उक्त अप्रेसनमा लागू औषध कारोबार तथा सेवन गर्ने, टोले गुण्डागर्दी गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र शंकास्पद रूपमा हिँडडुल गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका का विभिन्न वडाहरू—लेकसाइड, महेन्द्रपुल, पृथ्वीचोक, रामबजार, एयरपोर्ट क्षेत्रलगायत स्थानबाट सबैभन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन्। त्यस्तै माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिका क्षेत्रबाट समेत केही व्यक्तिहरू नियन्त्रणमा लिइएका छन्।
उक्त अप्रेसनमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायबाट करिब १०० जना प्रहरी परिचालन गरिएको थियो।
प्रहरीले नियन्त्रणमा लिइएकामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।






