पोखरा । कास्कीको पोखरा महानगरपालिका–८ सभागृहचोक क्षेत्रमा भएको सृजना पौडेल के.सी. हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
चैत २५ गते साँझ पृथ्वीचोक–सृजनाचोक सडकखण्डअन्तर्गत शिवालयचोक नजिक ४२ वर्षीया सृजना पौडेल के.सी.माथि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। उक्त घटनामा यसअघि नै दुई जना मुख्य प्रतिवादी पक्राउ परिसकेका थिए।
घटनाको थप अनुसन्धानका क्रममा प्रतिवादीहरूको बयान तथा सूक्ष्म अनुसन्धानका आधारमा थप दुई जनाको संलग्नता खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका–११ घर भई हाल पोखरा–५ जिरो किलोमिटर बस्ने २४ वर्षीय बसन्त के.सी. र पर्वत फलेवास नगरपालिका–९ भंगारा घर भई हाल पोखरा–१६ लामाचौर बस्ने २७ वर्षीय नवराज पौडेल क्षेत्री रहेका छन्।
उनीहरूलाई कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले हत्या प्रकरणको अनुसन्धानलाई थप गहिराइमा लैजाँदै घटनामा संलग्न सबै व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने जनाएको छ।






