Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

वैदेशिक रोजगारीबाट ठगिएका पीडितहरूलाई सहयोग गर्ने नाममा उल्टै ठगी धन्दा : संस्थाका सञ्चालक पक्राउ


काठमाडौं — वैदेशिक रोजगारीका पीडितहरूलाई नै निशाना बनाउँदै ठगी धन्दा चलाएको आरोपमा एक संस्थाका सञ्चालक पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकस्थित “वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं” नामक संस्थाबाट पीडितहरूका उजुरी लिने बहानामा गैरकानुनी रूपमा रकम असुल भइरहेको गोप्य सूचनापछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले छापा मारेको थियो।

छानबिनका क्रममा संस्थाका सञ्चालकले आफू अध्यक्ष भएको दाबी गर्दै प्रहरीमाथि नै अभद्र व्यवहार र अपशब्द प्रयोग गरेपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा सिन्धुली सुनकोसी गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौं नागार्जुन–५ आदेश्वर बस्दै आएका ६६ वर्षीय इन्द्रलाल गोले रहेका छन्।

प्रहरीका अनुसार उनले वैदेशिक रोजगारीबाट ठगिएका पीडितहरूलाई सहयोग गर्ने नाममा उल्टै रकम असुल्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

घटनाले वैदेशिक रोजगार क्षेत्रमा पीडितहरूलाई नै पुनः शोषण गर्ने प्रवृत्ति गम्भीर रूपमा फैलिरहेको संकेत गरेको छ। प्रहरीले यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र पारेको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom