काठमाडौं — वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पार्दै मकाउ पठाइदिन्छु भनी रकम असुलेर लामो समयसम्म झुक्याई सम्पर्कविहीन भएका आरोपितलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१२ बस्ने ४५ वर्षीय राजेन्द्र खड्का रहेका छन्।
उनले एक जना पीडितबाट वैदेशिक रोजगारीमा पठाइदिने बहानामा ३ लाख ८३ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ।
मिति २०८२ चैत २३ गते काठमाडौंको बूढानीलकण्ठ–१२ बाट पक्राउ परेका खड्कालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको छ।






