स्याङ्जा — गण्डकी प्रदेश अन्तर्गत स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३, रिमालफेदीमा रिमाल कौशिक गोत्रीय कुल पूजा कार्यक्रम धार्मिक विधि-विधानका साथ भव्य रूपमा सम्पन्न भएको छ। शोभकान्त रिमालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमले धार्मिक आस्था, पारिवारिक एकता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाएको छ।
कार्यक्रमका अवसरमा कुलदेवताप्रति गहिरो श्रद्धा प्रकट गर्दै विधिपूर्वक पूजा–अर्चना गरिएको थियो। धार्मिक परम्पराअनुसार सम्पन्न गरिएको पूजामा उपस्थित रिमाल बन्धुहरूले आ–आफ्नो सहभागिता जनाउँदै आध्यात्मिक वातावरण सिर्जना गरेका थिए।
यसै क्रममा समाजमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको थियो। जग्गा दाता हरि रिमाल तथा उहाँको परिवारलाई विशेष सम्मान प्रदान गरिएको थियो भने ८० वर्ष नाघेका सम्पूर्ण ज्येष्ठ नागरिकहरूलाई समेत सम्मानित गरियो। यसले समाजमा अग्रजहरूको योगदानको कदर गर्ने परम्परालाई अझ सुदृढ बनाएको आयोजकले जनाएको छ।
कार्यक्रमको संयोजकत्व महेश्वर रिमालले गर्नु भएको थियो। उहाँको नेतृत्वमा कार्यक्रम व्यवस्थापन प्रभावकारी रूपमा सम्पन्न भएको सहभागीहरूले बताएका छन्।
देशका विभिन्न स्थानबाट पाल्नु भएका रिमाल बन्धुहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ उत्साहपूर्ण बनाएको थियो। सबैको साथ, सहयोग र एकताले कार्यक्रम भव्य र उपलब्धिमूलक बनेको आयोजक पक्षको भनाइ छ।
समाजका सल्लाहकार टेक नारायण रिमालले कार्यक्रम सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।







