धनञ्जय रेग्मी ले संघीय संसदमा व्यक्त गरेको अभिव्यक्तिप्रति अर्जुनचौपारी गाउँपालिकाले औपचारिक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै कडा प्रतिक्रिया जनाएको छ।
स्याङ्जा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रेग्मीले संसदमा “अर्जुनचौपारी गाउँपालिकामा केही आस्थाका आधारमा शिक्षकहरूको जथाभावी सरुवा गरी दुःख दिइएको” टिप्पणी गरेका थिए। त्यसको जवाफमा गाउँपालिका अध्यक्ष प्रकाश तिवारी ले सार्वजनिक रूपमा लिखित प्रतिउत्तर दिएका हुन्।
पत्रमा गाउँपालिकाले “आस्था” शब्दलाई विद्यार्थीको उज्ज्वल भविष्य, शिक्षा प्रणालीको रूपान्तरण, पारदर्शिता तथा दीर्घकालीन शैक्षिक सुधारसँग जोडेर व्याख्या गरेको छ। गाउँपालिकाले शिक्षा क्षेत्रमा गरिएका निर्णयहरू संवैधानिक क्षेत्राधिकारभित्र रहेर नीतिगत रूपमा गरिएको दाबी गरेको छ।
ध्यानाकर्षण पत्रमा “माननीयज्यूको पार्टीमा आस्था राख्ने शिक्षकहरूलाई विशेष व्यवस्था गर्नुपर्ने भए नाम पठाइदिनुहोस्” भन्ने व्यंग्यात्मक टिप्पणीसमेत गरिएको छ। साथै, शिक्षक सरुवाको विषयभन्दा शिक्षकहरूले भोगिरहेका वास्तविक समस्या, विकास निर्माण र जनताका आवश्यकता केन्द्रित मुद्दामा आवाज उठाउन सांसद रेग्मीलाई आग्रह गरिएको छ।
गाउँपालिकाले सांसद रेग्मीलाई स्थानीय तहमा आएर वास्तविक समस्या बुझ्न र नागरिकका सरोकारबारे प्रत्यक्ष छलफल गर्नसमेत अनुरोध गरेको छ।






