अख्तियार दुरुपयोग अनुसन्धान आयोग को बर्दिबासस्थित टोलीले सोनमा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव लाई ७२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।
आयोगका अनुसार यादवलाई सडक ढलान योजनाको रकम निकासा गरिदिने नाममा उपभोक्ता समितिसँग अवैध रकम लिइरहेको अवस्थामा शुक्रबार पक्राउ गरिएको हो।
उनले सोनमा गाउँपालिका–२ स्थित मस्जिददेखि साजिदको घरसम्म निर्माण गरिएको सडक ढलान योजनाको विनियोजित बजेटबाट रकम माग गरेको आरोप लागेको छ।
घुस लेनदेन भइरहेको सूचनाका आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले उनलाई रकमसहित नियन्त्रणमा लिएको जनाएको छ।
आयोगले सार्वजनिक पदको दुरुपयोग गर्दै व्यक्तिगत लाभका लागि गैरकानुनी रूपमा रकम असुलेको आरोपमा यादवमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।





