गण्डकी । रोजगारीका लागि विदेशिएका श्रीमान् लामो समयसम्म सम्पर्कविहीन भएपछि खोजीका लागि रुस पुगेकी एक नेपाली महिलाको पनि उतै मृत्यु भएको घटनाले परिवार शोकमा डुबेको छ ।
बर्दियाको बाँसगढी नगरपालिका–४ घर भएका ४३ वर्षीय ज्ञानबहादुर थापा मगर रोजगारीका लागि विदेश जाने क्रममा दुबईको तयारी छाडेर एजेन्टको सम्पर्कमा रुस पुगेका थिए । परिवारका अनुसार उनी पछिल्लो समय युक्रेन युद्धसँग सम्बन्धित क्षेत्रमा पुगेको र त्यहाँ मृत्यु भएको आशंका गरिएको थियो । लामो समयसम्म कुनै सम्पर्क नभएपछि उनकी श्रीमती ४० वर्षीया इन्दिरा थापामगर श्रीमान्को खोजीका लागि रुस पुगेकी थिइन् ।
पोखराको बाटुलेचौर क्षेत्रमा मजदुरी गर्दै तीन सन्तानको पालनपोषण गरिरहेकी इन्दिरा श्रीमान्को अवस्थाबारे जानकारी लिन र परिवारको भविष्य सुरक्षित गर्ने आशामा रुस पुगेको बताइएको छ । परिवारका अनुसार श्रीमान्को मृत्यु भएको खबर पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर नेपाल फर्कने तयारीमा रहेकै बेला इन्दिरालाई एक्कासी हृदयघात भएको थियो ।
रुसस्थित नेपाली समुदायको सहयोगमा उनलाई मस्कोस्थित अस्पतालमा उपचारका लागि लगिएको थियो । तर उपचारकै क्रममा गत वैशाख ३१ गते उनको निधन भएको परिवारले जनाएको छ । हालसम्म शव परीक्षण प्रतिवेदन प्राप्त हुन नसकेको र आर्थिक अभावका कारण शव नेपाल ल्याउनसमेत कठिनाइ भइरहेको इन्दिराका बुवा चिरन कार्कीले बताएका छन् ।
परिवारका अनुसार इन्दिरा गत फागुन ४ गते पोखराबाट काठमाडौँ हुँदै रुस गएकी थिइन् । अहिले उनका तीन सन्तान आफन्तको संरक्षणमा रहेका छन् । यस घटनाले वैदेशिक रोजगारीका क्रममा नेपाली परिवारले भोगिरहेका पीडा र जोखिम पुनः उजागर गरेको छ ।





