वीरगन्ज महानगरपालिका क्षेत्रमा पछिल्ला दिनहरूमा होटल, कटेज, रक्सी पसल तथा निजी घरमार्फत देह व्यवसाय सञ्चालन भइरहेको विषय प्रहरी कारबाहीपछि सार्वजनिक भएको छ।
यसैक्रममा बुधबार साँझ वीरगन्ज महानगरपालिका–११ झाँझी टोलस्थित वकिल मियाँ अन्सारीको घरमा यौन व्यवसाय सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी दुई पुरुष र तीन महिलालाई नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय श्रीपुर का प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको हो। घरधनी अन्सारीसहित पाँच जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।
यस्तै, वडा प्रहरी कार्यालय बिर्ता ले नयाँ बसपार्क क्षेत्रमा होटल व्यवसायी र महिलाबीच झडप भएको सूचनापछि एक पुरुष र तीन महिलालाई नियन्त्रणमा लिएको जनाएको छ।
स्थानीय होटल व्यवसायीहरूले प्रहरीको कमजोर अनुगमन र केही व्यवसायीसँगको मिलेमतोका कारण होटल, कटेज तथा रक्सी पसलहरूमा अवैध गतिविधि बढ्दै गएको आरोप लगाएका छन्।





