Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा सामाजिक शिक्षकहरूको क्षमता अभिवृद्धि प्रशिक्षण सम्पन्न


पोखरा, जेठ ९ गते ।

पोखरामा रहेका संस्थागत विद्यालयमा अध्यापनरत सामाजिक विषयका शिक्षक–शिक्षिकाहरूका लागि आयोजना गरिएको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एपेक्स कास्कीको आयोजनामा तथा संस्थाका अध्यक्ष बाबुराम बराल को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक विषयको शिक्षणलाई थप प्रभावकारी, व्यवहारिक तथा विद्यार्थीमैत्री बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा सामाजिक पुस्तकका लेखक तथा प्रशिक्षक दिनेश अर्याल ले सहजीकरण गर्नुभएको थियो । उहाँले सामाजिक विषयको अध्यापनलाई केवल पाठ्यपुस्तकमै सीमित नराखी व्यवहारिक ज्ञान, समसामयिक सन्दर्भ तथा विद्यार्थीको सक्रिय सहभागितामार्फत प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रशिक्षणका क्रममा प्रश्न निर्माण प्रक्रिया, विशिष्टीकरण तालिका निर्माण, मूल्याङ्कन प्रणालीलाई व्यवस्थित बनाउने उपाय, सिकाइ उपलब्धि मापनका आधार तथा कक्षाकोठाभित्र शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउने विभिन्न विधि र उपायका बारेमा विस्तृत रूपमा प्रशिक्षण प्रदान गरिएको थियो । साथै, विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने शैली, व्यवहारिक अभ्यास तथा सहभागितामूलक शिक्षण पद्धतिका विषयमा समेत अन्तरक्रियात्मक छलफल गरिएको थियो ।


कार्यक्रम सञ्चालन विषय संयोजक तथा रेन्वो एकेडेमी का संस्थापक कृष्ण प्रसाद ढकाल ले गर्नुभएको थियो । उहाँले सामाजिक विषयको गुणस्तरीय शिक्षणका लागि शिक्षकहरूलाई समयानुकूल तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमले शिक्षण पद्धतिमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रशिक्षण कार्यक्रममा पोखराका विभिन्न संस्थागत विद्यालयमा कार्यरत सामाजिक विषयका दर्जनौँ शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो । सहभागीहरूले प्रशिक्षण अत्यन्त उपयोगी, व्यवहारिक तथा पेशागत क्षमता विकासमा सहयोगी भएको प्रतिक्रिया दिएका थिए ।

एपेक्स कास्कीले आगामी दिनमा पनि विषयगत शिक्षकहरूको क्षमता विकास, शिक्षण पद्धतिमा नवीनता तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom