मेरिगोल्ड अंग्रेजी आवासीय माध्यमिक विद्यालय मा नयाँ शैक्षिक सत्रका अवसरमा नयाँ विद्यार्थीहरुलाई स्वागत गर्ने विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यालय परिवारले नवआगन्तुक विद्यार्थीहरुलाई हार्दिक स्वागत गर्दै सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गरेको थियो।
कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक मोतीराम गुरुङ तथा प्राचार्य शर्मिला गुरुङ ले संयुक्त रूपमा विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यालयको अनुशासन, गुणस्तरीय शिक्षा तथा समग्र व्यक्तित्व विकासका विषयमा प्रेरणादायी मन्तव्य राख्नुभएको थियो।
संस्थापक निर्देशक मोतीराम गुरुङले आफ्ना भनाइ राख्दै विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर शिक्षण गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले विद्यार्थीहरुलाई अध्ययनसँगै अनुशासन, नैतिक शिक्षा तथा अतिरिक्त क्रियाकलापमा समेत सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो। साथै, विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै विद्यार्थीको उज्ज्वल भविष्यका लागि निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, प्राचार्य शर्मिला गुरुङले नयाँ विद्यार्थीहरुलाई विद्यालय परिवारमा स्वागत गर्दै विद्यालयले विद्यार्थीमैत्री वातावरणमा आधुनिक तथा व्यवहारिक शिक्षा प्रदान गरिरहेको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीहरुलाई नियमित अध्ययन, समयको सदुपयोग तथा सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गर्नुभयो। साथै, अभिभावक र शिक्षकबीचको सहकार्यले मात्र विद्यार्थीको सफलता सुनिश्चित हुने धारणा व्यक्त गर्नुभयो।
सोही अवसरमा अघिल्लो शैक्षिक वर्षमा विद्यालयले सञ्चालन गरेका विभिन्न अतिरिक्त क्रियाकलाप तथा प्रतियोगिताहरूमा प्रथम र द्वितीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो। पुरस्कृत विद्यार्थीहरुलाई उपस्थित सम्पूर्णले ताली बजाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन पक्षको उल्लेखनीय उपस्थिति रहेको थियो। स्वागत, सम्मान तथा प्रेरणादायी वातावरणले कार्यक्रमलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको थियो। विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, अनुशासन र विद्यालयप्रतिको अपनत्व भावना वृद्धि हुने विश्वास व्यक्त गरेको छ।




