प्रहरीले काठमाडौं महानगरपालिका–२२ बाट बिलबिजक नभएको करिब ६ करोड रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सिगरेट (भेप) बरामद गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर ठूलो परिमाणमा भेप बरामद गरेको हो।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्का का अनुसार ललितपुर महानगरपालिका–८ निवासी ३२ वर्षीय नवीन खड्कालाई पक्राउ गरिएको छ।
आरबी कम्प्लेक्सको अन्डरग्राउन्डमा सञ्चालन हुँदै आएको ‘स्माइल योर च्वाइस’ पसल तथा सोही कम्प्लेक्स नजिक रहेको ‘भेपमाण्डु ट्रेडर्स प्रालि’ का दुई वटा गोदामबाट भेप बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार करिब २८ हजार ५ सय थान भेपको कुनै वैध बिलबिजक फेला नपरेपछि सामान नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





