मेरिगोल्ड अँग्रेजी आवासीय मा.वि.ले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान गर्ने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम पोखरा–१५ नयाँगाउँस्थित विद्यालयको सभाहलमा विद्यालयका संस्थापक निर्देशक मोतिराम गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले विद्यार्थीहरूको मेहनत, अनुशासन र अभिभावक तथा शिक्षकको समर्पणकै कारण विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले एसईई जीवनको एउटा महत्वपूर्ण खुड्किलो मात्र भएको बताउँदै आगामी शैक्षिक यात्रामा अझ जिम्मेवार, सिर्जनशील र आत्मविश्वासी बन्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। साथै, शिक्षा केवल परीक्षाको नतिजामा सीमित नभई असल व्यक्तित्व निर्माणसँग जोडिएको विषय भएको धारणा समेत व्यक्त गर्नुभयो।
त्यसैगरी विद्यालयकी प्राचार्य शर्मिला गुरुङले विद्यार्थीहरूको सफलताले विद्यालय परिवारलाई गौरवान्वित बनाएको बताउँदै आगामी दिनमा पनि गुणस्तरीय शिक्षासँगै नैतिक, व्यवहारिक तथा जीवनोपयोगी शिक्षामा विद्यालयले विशेष जोड दिने उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै निरन्तर अध्ययन, सकारात्मक सोच र मेहनतलाई जीवनको मूल मन्त्र बनाउन सुझाव दिनुभयो।
कार्यक्रममा विद्यालयबाट ३.९६ जिपिए प्राप्त गर्ने आयुष गहतराजसहित एसईई उत्तीर्ण सम्पुर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय परिवारको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सफल विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्नुका साथै उनीहरूको आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरिएको थियो।





