Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

संसदमा भएको अव्यवस्थाबारे छानबिन समिति गठन, सात दिनभित्र प्रतिवेदन पेश गर्ने



जेठ १८ गते । प्रतिनिधि सभाको बैठकमा आइतबार भएको अवरोध र अमर्यादित गतिविधिबारे छानबिन गर्न सभामुख डिपी अर्यालले तीन सदस्यीय समिति गठन गरेका छन्।


सदनभित्र केही सांसदले अव्यवस्था सिर्जना गर्दै आपत्तिजनक व्यवहार प्रदर्शन गरेको तथा भौतिक क्षतिसमेत पुर्‍याएको विषयमा विस्तृत अनुसन्धान गर्न समिति गठन गरिएको संसद सचिवालयले जनाएको छ।


संसद सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिमा संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल सदस्य रहेका छन्।


सभामुख अर्यालका अनुसार प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ३३ को उपनियम (४) बमोजिम घटनाबारे मुचुल्का तयार भइसकेको छ। गठित समितिलाई घटनाको सम्पूर्ण पक्ष अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।


समितिले पेश गर्ने प्रतिवेदनका आधारमा दोषी ठहरिएका सदस्यविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सभामुखले बताएका छन्।


प्रतिनिधि सभा नियमावलीमा कुनै सदस्यले बैठकमा ध्वंसात्मक वा आपत्तिजनक गतिविधि गरेको अथवा संसद भवनभित्र भौतिक क्षति पुर्‍याएको प्रमाणित भएमा सभामुखले त्यस्ता सदस्यलाई बढीमा १५ दिनसम्म निलम्बन गर्न सक्ने तथा भएको क्षतिको क्षतिपूर्ति सम्बन्धित सदस्यबाट असुल गर्न सक्ने व्यवस्था रहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom