यो अद्वितीय आकाशगङ्गाको खोज अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब स्पेस टेलिस्कोप (JWST) को सहायता लिएर गरिएको हो। भारतकी शोधकर्ता राशि जैनले विद्यावारिधि (PhD) अनुसन्धानका क्रममा पत्ता लगाएको खोजसम्बन्धी अध्ययन हालै प्रतिष्ठित वैज्ञानिक जर्नल ‘एस्ट्रोनमी एन्ड एस्ट्रोफिजिक्स’मा प्रकाशित भएको छ। जैनको अनुसन्धान पुणेको टाटा इन्स्टिट्यूट अफ फन्डामेन्टल रिसर्चअन्तर्गत राष्ट्रिय रेडियो खगोल भौतिकी केन्द्रका प्राध्यापक योगेश वाडदेकरले निर्देशन गरेका थिए।
खगोलविद्हरूका अनुसार अनगिन्ती तारा, ग्रह, ग्यास, धूलो र गुरुत्वाकर्षणले मिलेर विकसित हुने विशाल संरचनालाई आकाशगङ्गा भनिन्छ। तिनका आकार चक्राकारदेखि अण्डाकार वा अनियमितसम्म हुन सक्छन्। ‘अलकनन्दा’ चक्राकार संरचना भएको पुष्टि भएको छ।
यो आकाशगङ्गा पृथ्वीबाट करिब १२ अर्ब प्रकाशवर्ष टाढा अवस्थित छ, जसको अर्थ यहाँबाट देखिएको प्रकाशले १२ अर्ब वर्षअघि यात्रा सुरु गरेको मानिन्छ—अर्थात् ब्रह्माण्डको अत्यन्त प्रारम्भिक युगको झलक।
शोधकर्ता राशि जैनका अनुसार, “यो संरचना ‘बिग ब्याङ’पछि लगभग डेढ अर्ब वर्षमै बनेको देखिन्छ। त्यस्तो प्रारम्भिक चरणमा यति सुव्यवस्थित र चक्राकार आकाशगङ्गा निर्माण हुनु निकै अचम्मको विषय हो। यसले जटिल खगोलीय संरचनाहरू निर्माण हुन हामीले अनुमान गरेभन्दा धेरै पहिले नै सुरु भएको संकेत दिन्छ।”
जैन र वाडदेकरको निष्कर्षअनुसार ‘अलकनन्दा आकाशगङ्गा’ अत्यन्त सक्रिय, ऊर्जा सम्पन्न र प्रभावशाली ब्रह्माण्डीय शक्ति केन्द्रको रूपमा कार्य गरिरहेको छ।






